यसकारण म कम्युनिष्ट !

April 26, 2020      Views: 386  

कम्युनिष्ट शब्द नै यति गहन, एतिहासिक, ओझपुर्ण, जिम्मेवार, आस्था र भरोसा लायकको छ । यो एक शब्द मात्र नभई समस्त प्रगतिशील विचार, लोकतन्त्र, किसान, महिला, मजदुर, श्रमजीवी, सर्वहारावर्ग र अन्ततः समस्त अग्रगामी वामपन्थी सोच भएकाहरुको प्रतिनिधि हो । भौतिकवादी दर्शन र सोच, वैज्ञानिक तथ्य, बिज्ञानको सोचलाई मान्ने व्यक्ति नै कम्युनिष्ट हुन् । कम्युनिष्ट कुनै निश्चित कम्युनिष्ट पार्टीमा आस्था राख्दैमा वा सदस्यता लिदैमा वा भनौं कुनै आवधिक चुनावमा कम्युनिष्ट पार्टीलाई भोट हाल्दैमा मात्रै नभई कम्युनिष्ट सिद्धांतलाई शिरोधर गरि त्यसै अनुरुप मालेमा दर्शनलाई आफ्नो मुल आदर्श मानी आफ्नो विचार, भाव, सोचाई र दृष्टिकोण लगायतका पक्षहरू अभिव्यक्त गरि समाज र मुलुकलाई नै नेतृत्व प्रदान गर्ने व्यक्ति भन्ने बुझ्न सकिन्छ ।

समाजमा विद्यमान विभिन्न अन्याय, अत्याचार, विकृती र विसंगतीहरुको चिरफार गरि समाजलाई एक नयाँ आयाम र गतिशिल बनाउन सदैव तत्पर हुन्छन् । कम्युनिष्ट विभिन्न आन्दोलनका आधी बेरि र रापताप, मोर्चाहरुबाट सु-संगठित र संघर्षको भट्टीहरुबाट निखारिएर आएका बौद्धिक पात्र हुन्छन् त्यसैले त युरि गाग्रीनले जब प्रथम पटक अन्तरीक्षमा सफलताका साथ फेरो मारेर धर्तीमा आएका थिए त्यतिबेला तत्कालीन राष्ट्र प्रमुखद्वारा पुरस्कार स्वरुप इच्छा सोध्दा उनले ‘कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरि कम्युनिस्ट बन्न’ इच्छुक भएको कुरा व्यक्त जसले कम्युनिष्ट र कम्युनिष्ट पार्टीको अझ बढी महत्त्व बढाएको छ । कम्युनिस्टहरु एक-अर्कालाई हार्दिकताका साथ सम्बोधन गर्दै कम्रेड भन्ने गर्दछ जसको अर्थ हुन्छ सहयात्री ।

मार्क्सवादी दर्शन के हो ? मार्क्सवादी दर्शन अति नै गहन एंव व्यापक सिद्धान्त हो र यसको व्याख्या , विश्लेषण गर्न यो सामान्य लेखमा सम्भव नभएता पनि मुलभुत रुपमा भने केही प्रयास गरेको छु । सामान्यतस् महान दार्शनिक तथा अर्थशास्त्री कार्ल मार्क्स र उनका सहयोगीहरुको मद्वतद्वारा प्रतिपादित गरिएको विश्वको एक मात्र यस्तो दर्शन हो जसले समस्त उत्पीडित वर्ग, जात, लिंग, पेशा, भाषाभाषी आदिको प्रतिनिधित्वको साथै जीवन जगतका थुप्रै नियमहरु र ती नियमहरुलाई बोध गर्ने तरिकाहरुको सुसंगत ,सुबोध तथा पारदर्शी ढंगले दृष्टिकोण र व्याख्या गरिएको दर्शन हो । उक्त दर्शन गुरुत्वाकर्षण लगायत अन्य वैज्ञानिक नियमहरु समान छ किनभने यो पनि विभिन्न खोज, अध्ययन, अनुसन्धान, वस्तुपरक, तथ्यपरक र वास्तविक धरातलमा आधारित रहेको छ । यो कुनै निश्चित समय वा परिधी वा भनौं कुनै निश्चित राष्ट्रको सम्पत्ति नभई समस्त विश्व जगतले ज्ञान लिन, उपयोग र उपभोग गर्न सक्ने दर्शन हो ।

यो दर्शन एक भौतिकवादी दर्शन हो जसले अस्तित्वलाई प्रथम र चेतनालाई द्वितीय स्थानमा राख्दछ । यसले मानिसहरुलाई बोधत्वको बाटो मात्र देखाउने नभई जगतको क्रान्तिकारी परिवर्तनको बाटो पनि देखाउछ ।  बिज्ञानले वास्तविकताको निश्चित क्षेत्रको मात्र अध्ययन गर्दछ जस्तैः भौतिकशास्त्रले ताप, चाप, विद्युत र अन्य भौतिक घटनाहरु, रसायनशास्त्रले रासायनिक रुपान्तरणको प्रक्रियाहरु, जीवशास्त्रले जैविक प्रक्रियाहरु आदि । यी बिज्ञानका एक विधाले अर्को विधाको अध्ययन, व्याख्या गर्न सक्दैन तर यसको विपरित मार्क्सवादी दर्शनले यस्ता क्षेत्रहरुको सामान्य नियमहरुको अध्ययन गर्दछ जसमा यी सबै बिज्ञानको क्षेत्रहरु आश्रीत हुन्छन् । जस्तैः निर्जीव सजिव प्रकृतिका सबै वस्तुहरु, सामाजिक जीवन र चेतनाका घटनाहरु, प्रतिपक्षहरुका एकत्व र संघर्ष सम्बन्धी नियम, परिमाणत्मक परिवर्तनको गुणात्मक परिवर्तनमा संक्रमण सम्बन्धी नियम र निषेधको निषेध सम्बन्धी नियमको आधारमा विकसित हुन्छन् र त्यसैको चर्चा गर्दछ ।

यसले जगतलाई गतिशिल, परीवर्तनशिल र विकासशिल रुपमा सदैव विचार गर्दछ । यसले जगतको बारे व्यापक र उचित दृष्टिकोण राख्न सिकाउछ । यो दर्शनले सबै उमेर, पेशा, समुदायहरुका लागि ज्ञान प्रदान गर्दछ । प्रगतिशिल युवाहरुका लागि राजनैतिक परिपक्वता, वैदेशिक हस्तक्षेप र सामाजिक उत्पीडिनका विरुद्ध संघर्षमा सिद्धान्त परायणता, दृढता र साहसको भावना विकास गर्न मद्दत गर्ने एक मात्र अस्त्र हो ।

आज हाम्रो देशमा कम्युनिष्टहरुको शासन छ, हामीलाई गर्व छ र गर्नु पर्दछ । देशमा कम्युनिष्ट शासन भएयता सबै खाले अन्याय अत्याचार, विभेद, शोषण आदिको अन्त्य भई पुंजीपति वर्गहरुको मात्र अवशेष वा सिनो मात्र बाकी रहेको छ । सबैलाई समान र समतामूलक व्यवहार गर्दै सबै उत्पीडित जातजाति, भाषाभाषी, उमेर, लिंग, वर्ग आदिलाई अवसर दिदै भ्रष्टाचारलाई शुन्यमा झार्दै राज्यलाई दोहन नगरी एक शान्त समाज र राष्ट्र निर्माणमा ओतप्रोत भई नीति तथ कार्यक्रमहरु ल्याएको हुँदा आम नेपाली जनताहरु ढुक्कसंग बसेका छन् ।

आजको मितिसम्म हेर्ने हो भने कम्युनिष्टहरुको विरुद्व राष्ट्र भित्र मात्र नभई सिंगो विश्वमा नै पुजीपति सम्भ्रान्त वर्गहरु हात धोएर लागि परेको देखिन्छ यसको मुख्य कारण भनेको नै उनीहरुको काला कर्तुतहरुको पर्दाफास गरि नांगेझार बनाउदै कम्युनिस्टहरु अगाडि बढिरहेका छन् । त्यसैले पनि हामीले गर्व गर्नुको कारण भनेको नै आज देशमा कम्युनिष्टहरुले राज्य संचालन गरिरहेका छन् जो राष्ट्रप्रेमी, लोकतन्त्रवादी, गणतन्त्रवादी, कर्तव्यनिष्ट, असल छवि भएका, जनप्रिय, न्यायप्रेमी नेपाली जनताका हितको निमित्त विभिन्न आन्दोलनका आधिबेरीहरुमा होमिएका, विचारमा स्पष्ट भएकाहरु छन् । कम्युनिष्टहरु मुलुकको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, धर्म निर्पेक्षता लगायत विभिन्न राष्ट्रिय सवालका मुद्दाहरुको सकारात्मक पक्षमा सदैव अग्रणी भुमिका अघि सर्दै आम जनताहरुको ढुक्ढुकी बनी बाँस गर्दछन ।

देशलाई समृद्ध र विकाशीत बनाउन राष्ट्रिय एकताको अनिवार्य खाचो रहेको छ । विभिन्न जातजाति, भाषाभाषी, उमेर, लिंग, वर्ग आदिहरुको बीच मनमुटाव उत्पन्न गराई धुर्विकरण गराउदै आफ्नो क्षणिक राजनैतिक फाइदा र निजि स्वार्थ पुर्ती गराउने जस्ता घृणित कार्य गर्ने सामाजिक धमिराहरुको विनास चाहन्छन् । कम्युनिष्टहरु आफ्नो देशको माटो सुहाउँदो क्रान्ती र नीति हुनुपर्नेमा जोड दिने गर्दछ्न । कथित विकसित राष्ट्र भन्नेहरु आफ्नो साम्राज्यवादी नीति स्वरुप दातृ निकायको खोल ओढि सहयोगको नाममा यहाँ भएका आर्थिक, सामाजिक, सांस्कृतिक एकतामा खलल मचाउदै आफ्नो भाषा, धर्म, संस्कृति आदिको प्रवर्द्धनमा जुट्ने गर्दछन जुन राष्ट्रिय हितमा कदापी हुन सक्दैन , यस्तो खालको कार्यको कम्युनिष्टहरु आफ्नो राज्यमा सदैव विरोध गर्ने गर्दछन् ।

संसारको एक मात्र उत्कृष्ट विचारधारा भनेको नै कम्युनिष्ट विचारधारा हो जसले जनताको बोली बोल्दछ । सबै खाले उत्पीडित वर्ग, जातजाति, भाषाभाषी, उमेर, लिंग आदिको प्रतिनिधित्व गरि सबैको आवाजलाई अझ बुलन्द र स्पाथ बनाउने सैद्धान्तिक अस्त्र नै यहि विचारधारा हो । यहि विचारधारामा समस्त क्रान्तिकारी सोच भएकाहरु, विकासवादी, लोकतान्त्रिक तथा गणतान्त्रिक प्रणालीहरुमा विश्वास राख्ने , नविनतम सोच भएकाहरु आबद्ध भएका छन् । त्यसैले म आम नेपाली नागरिक मात्रै नभई समस्त विश्व भरिका आमनागरिकहरुलाई यसै विचारधारा अगिकार गर्नहुन समेत अपिल गर्दछु र यो दाबीका साथ पनि भन्न सक्छु कि यदि तपाईंहरुले यस विचारधारालाई विभिन्न अध्ययन, अनुसन्धान गरि स्विकार गर्नु भएपश्चात तपाईहरुमा कुनै पश्चताप नभई उल्टो गर्विलो बन्नु हुनेछ ।  धन्यवाद , लालसलाम !!

निश्चल सन्जेल अनेरास्ववियूका नेता हुन् ।

 

Similar Post You May Like