प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा छुटे नयाँपत्रिकालाई ३ करोड ठग्ने ठग !

January 24, 2021      Views: 342  

काठमाडौ । महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार जग्गा बैना बापतको २ करोड ७५ लाख (झन्डै ३ करोड) ठगी गरेको भन्दै २ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा शिरिष खड्का र सुरेन्द्र महर्जन थिए । उनीहरु मध्ये खड्का भने न्याय परिषदका सदस्य लक्ष्मी प्रसाद निरौला खड्काका छोरा थिए । तर, खड्कालाई पक्राउ गरेको केही बेरमै काठमाडौं प्रहरीका प्रमुख एसपी अशोक सिंहलाई बालुवाटार (प्रधानमन्त्री निवास) बाट फोन आयो । बालुवाटारबाट तुरुन्त बोलाएपछि उनी एकाएक बालुवाटार पुगे । उनी पुग्दा त्यहाँ न्याय परिषदका सदस्य लक्ष्मी प्रसाद निराला पनि थिए । प्रधानमन्त्री ओलीले पक्राउ परेका अभियुक्तलाई तुरुन्त छाड्न निर्देशन दिएपछि उनीहरु पक्राउ परेको केही घण्टामै छुटेको खुलाशा भएको छ ।

उनीहरुलाई आज बिहान उपस्थित गराउने गरी हिजो राती ८ बजे छाडिएको र आइतबार विहान परिसरमा बोलाएर छलफल गरिएको स्रोतले बतायो । ठगिमा पक्राउ परेका खड्का सहितको समुह राजधानीको बानेश्वरमा रहेका ओलम्पिया कलेजका सञ्चालक हुन् । उनीहरुले नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटालाई २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न बैना गरेका थिए । बैना बापतको २ करोड ७५ लाख रुपैयाँ लिएर लामो समय फिर्ता नगरेपछि देवकोटाले प्रहरीको सहारा लिनु परेको थियो । पछिल्लो समय नयाँ पत्रिका दैनिकले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्दै आएको छ । त्यसैले पनि प्रधानमन्त्री ओलीले ठगिका अभियुक्तलाई साथ दिएको स्रोत बताउँछ ।

स्रोतका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट चर्को दबाब आएपछि राती प्रहरीले उनीहरुलाई छाडेर आज बिहान पुनस् बोलाई दुई पक्षलाई सँगै राखेर छलफल गराएको छ। कृष्णज्वाला देवकोटाको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । तर उनीहरूलाई पक्राउ गरिएको केही घण्टामै प्रहरीले उनीहरू छुटेका थिए । स्रोतका अनुसार खड्का र महर्जनलाई पक्राउ गर्नुका कारणबारे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहलाई गृहमन्त्रालयले स्पष्टीकण समेत सोधेको छ ।

२०७६ बैशाखमा देवकोटाले उनीहरुलाई जग्गा बैना स्वरुप २ करोड ७५ लाख रुपैयाँ बुझाएका थिए । नयाँ पत्रिका दैनिकको कार्यालयका लागि भन्दै देवकोटाले माधव नेपालको घर नजिकै रहेको जग्गा किन्न बैना दिएका थिए । पिडितले आफ्नो पैसा फिर्ता माग्दा शिरिषले आफ्ना बुबा लक्ष्मी बहादुर ‘निराला’ खड्का न्यायपरिषद् सदस्य भएको भन्दै उल्टै थर्काउने गरेका थिए । लक्ष्मी बहादुर ‘निराला’ खड्का तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता हुन् । एक वर्षको कार्यकाल बाँकी छदै न्यायपरिषद् सदस्यबाट पदमप्रसाद वैदिकले राजीनामा दिएपछि उनको ठाउँमा वरिष्ठ अधिवक्ता निराला नियुक्त भएका हुन्।

सरकारको कोटाबाट सिफारिस हुने न्यायपरिषद् सदस्यमा शाहीकालका महान्यायाधिवक्ता निराला नियुक्त भएपछि नेकपा निकट कानुन व्यवसायीहरुमा खेलाबैला मच्चिएको थियो । निराला ०६२ पुस ११ देखि ०६३ वैशाख १५ सम्म महान्यायाधिवक्ता थिए। त्यसबेला मन्त्रिपरिषद्को अध्यक्ष पूर्वराजा शाह आफैं थिए। त्यस अघिका महान्यायायधिवक्ता पवन ओझा सर्वोच्चको अस्थायी न्यायाधीश नियुक्त भएपछि निरालालाई महान्यायाधिवक्ता बनाइएको थियो। राजावादी वकिलको पक्षपोषण गरेको भन्दै प्रधानमन्त्री ओलीको पनि पार्टी भित्र आलोचना भएको थियो ।

अहिले आएर उनै खड्काका छोराले बाबुको पद र पावरको धम्की दिंदै खुलेआम ठगि गरेको खुलेको हो । उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ । निरालाको यहि पदको प्रभाव हुनसक्छ, सिरिषलाई छुटाउन सिआईबी प्रमुख सहकुल थापाको समेत दबाब आएको स्रोतले बतायो ।

Similar Post You May Like