राउत बने प्रदेश २ को जसपा संसदीय दलको नेता

June 6, 2021      Views: 7  

काठमाडौं । जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।

जसपाका बहुमत सांसदहरुको हस्ताक्षरसहित अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउत संसदीय दलको नेतामा चयन भएका हुन् । जनकपुरधाममा बसेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरेको एक नेताले जानकारी दिए ।

बैठकले जसपाको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता समेत चयन गरेको हो । संसदीय दलमा चयनसँगै आजै प्रदेशसभा सचिवालयमा पत्र सहित जानकारी गराइनेछ ।

केन्द्रमा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश२ मा समेत सरकार परिवर्तन हुने चर्चाबीच अध्यक्ष यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनका साथै संसदीय दलको नेता समेत चयन गराउन लगाएका हुन्।

तत्कालीन समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेश सभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेको बताइएको छ। यादव पक्षले काँग्रेस र माओवादी केन्द्रसँग सत्ता साझेदारीका लागि छलफल अघि बढाएको छ ।

Similar Post You May Like