प्रधानन्यायाधीश जबराको स्वास्थ्यमा समस्या आएपछि संवैधानिक इजलास स्थगित

June 7, 2021      Views: 7  

काठमाडौँ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलास आज नबस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको स्वास्थ्यमा समस्या आएपछि संवैधानिक इजलास सोमबार नबस्ने भएको हो ।  सर्वोच्च स्रोतका अनुसार अब संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिनेछ।

सुरुमा गठन गरिएको इजलासका न्यायाधीशमाथि प्रश्न उठेपछि आइतबार मात्र प्रधानन्यायाधीश जबराले बरिष्ठताका आधारमा संवैधानिक इजलास पुर्नगठन गरेका थिए । प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए। तर, आइतबार पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा ३० वटा रिटको सुनुवाइ हुने छ। निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् ।  प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका छन् ।

Similar Post You May Like