मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, एमाले विपक्षमा उभिने

June 8, 2021      Views: 6  

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारका मुख्यमन्त्री भट्टले मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्न लागेका हुन् । आइतबार नै विश्वासको मत लिन खोजे पनि कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य आजको लागि सरेको थियो ।

विश्वासको मतका विपक्षमा नेकपा (एमाले) रहेको छ । एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्रसमेत पठाएका छन् ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका  १५ र संस्थापन पक्षमा नौ सदस्य छन् । नेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे  विश्वास प्राप्त गर्नेछन्। कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।

Similar Post You May Like