प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

November 4, 2021      Views: 125  

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन् । यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई प्रधानमन्त्री देउवा बिहीबार बिहान स्वदेश फिर्ता भएका हुन् ।

प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी थिए ।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए । नेपालले २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाएका थिए । जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।

सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए ।

Similar Post You May Like